पहिलो खण्ड
घरमा पानी चुहिँदा ओभानो ठाउँ खोज्दै गुन्द्रीमा रात काटेको अनुभव सँगालेका सूर्यकुमार खाती स्वीट्जरल्यान्डस्थित पाँचतारे होटलमा पनि सुतेका छन् । फरक यति हो, स्वीट ्जरल्यान्डको पाँचतारे होटलमा सुत्दा उनको परिचय संगीतकार आलोकश्रीको थियो ।
आलोकश्री यस्ता पात्र हुन्, जसले मेहनत र आत्मविश्वासकै कारण आफ्नो पहिचानलाई करोडौं नेपालीका माझ परिचित गराएका छन् । गोरखाको आँपपीपलमा पहिलो पटक आँखा उघारेका आलोकश्री जम्बो परिवारका सदस्य थिए ।
‘बुबाहरू चार दाजुभाइ तथा चार दिदीबहिनी हुनुहुन्थ्यो’ आलोकश्री भन्छन्- ‘त्यसमा पनि हाम्रा बा-आमाका पाँच सन्तान थपिएपछि परिवारको साइज झन्डै दुई दर्जन पुगेको थियो ।’ ‘आम्दानी भए पनि खर्च धेरै हुने भएकाले घर चलाउन मुस्किल हुन्थ्यो,’ उनी सम्झन्छन्- ‘कक्षा ८ मा पुगेपछि म पनि मेलापातमा व्यस्त हुन थालिसकेको थिएँ ।’ यसरी बिहान- बिहान गरेको कामबाट आउने २-३ रुपैयाँ जम्मा गरेर उनी महिनामा ५० रुपैयाँ पुर्याउँथे, जुन विद्यालय शुल्क तथा कापी किताबमा खर्च हुन्थ्यो ।
अध्ययन पहिलो प्राथमिकतामा रहे पनि धेरै कुरामा रुचि राख्ने आलोक ०३८ सालतिर रेडियोका पारखी भैसकेका थिए । ‘रेडियो बजेको थाहा पाउनेबित्तिकै मेरा पाइला टक्क रोकिन्थे ।’ उनी भन्छन्- ‘रेडियोबाट आउने आवाजले मलाई यति अचम्मित तुल्याउँथ्यो कि कसरी मानिस यति सानो भाँडोभित्र अटाएका होलान् । यसबीच कसैले उल्क्याइदियो, रेडियोभित्र कलाकार हुन्छन् भनेर, बाले दुःख गरेर जोडेको ट्रान्जिस्टर भताभुङ्ग हुने गरी खोलेर हेरें, सयौं तार गुजुल्टिएर बसेको देखेपछि कलाकार नपाएको पीडामा डाँको छोडेर रोएँ । (more…)





