Archive for the ‘मेरो जिन्दगी मेरो विश्वास’ Category

पुरुषबिना करिश्माको कुनै अर्थ छैन

September 23rd, 2010

मानिसलाई पैसाले आकषिर्त गर्छ, प्राकृतिक वस्तुले आकषिर्त गर्छ, ठूलो पद र प्रतिष्ठाले आकषिर्त गर्छ । यौनले आकषिर्त गर्छ । यद्यपि मलाई पैसाले कहिल्यै आकषिर्त गरेन । कलाकारिताबाहेक कुनै पदले पनि आकषिर्त गरेन । म घुम्न मन पराउँछु, तर त्यसले सधैं आकषिर्त गरेन । त्यसो भए मलाई के कुराले आकषिर्त गर्छ…. लामो समय गुनेपछि मैले बुझें थाहा पाएँ, मलाई पुरुषको व्यक्तित्व एवं व्यवहारले आकषिर्त गर्छ ।

म पुरुषका लागि सौन्दर्य प्रसाधन प्रयोग गर्छु । म पुरुषका अघि राम्री देखिन चाहन्छु । मलाई सम्झना हुन्छ- जब मेरो नजिक कुनै पुरुष पत्रकारले अन्तरवार्ता लिइरहेको हुन्छ, म आफ्नो सौन्दर्यप्रति सचेत हुन्छु । म त्यही कुरा बोल्छु, जुन कुरा पुरुषहरू मन पराउँछन् । फोटोपत्रकारले मेरो तस्बिर लिइरहँदा मलाई लाग्छ, म सम्पूर्ण पुरुषमा आफ्नो सौन्दर्य छरिरहेको छु । म पुरुषसँग रहँदा करिश्मा भएको बोध गरिरहेकी हुन्छु । पुरुषबिना करिश्मा मानन्धरको कुनै अर्थ छैन, उसको सौन्दर्यको पनि कुनै मूल्य छैन । करिश्माले जीवनमा जे-जस्तो सफलता हासिल गरेकी छे, त्यो सफलताका पछि पुरुषको आँखा, पुरुषको मन एवं पुरुषको सम्मान नै हो ।

०००

सर्वप्रथम मैले पुरुषलाई परैबाट चिनंे । मलाई पुरुष भन्नेबित्तिकै आफूलाई स्कुलमा पढाउने शिक्षक हो भन्ने लाग्थ्यो । चलचित्रमा सानो उमेरमा प्रवेश गरें, त्यसैले पुरुष भन्नेबित्तिकै केश फुलेको निर्देशक हो भन्ने लाग्थ्यो । सानैदेखि बुबाको मायाबाट वञ्चित भएका कारण मलाई पुरुष प्रेमी कम अभिभावक बढी हो भन्ने लाग्थ्यो । त्यसैले मलाई चकलेटी, आकर्षक वा बडी बिल्डर पुरुषले आकषिर्त गर्दैनन् । पुरुष मेरा लागि हाम्रो समाजले अंगीकार गरेजस्तै कम बोल्ने तर महत्त्वपूर्ण कुरा बोल्ने हुनुपर्छ । उसमा पीताको जस्तो अभिभावकत्व एवं गुरुको जस्तो ज्ञान हुनुपर्छ । मेरो आदर्श पुरुष त्यही हो, जो बाहिर हेर्दा साधारण, भित्र असाधारण व्यक्तित्वको धनी होस् । पहिलो भेटमा कुन पुरुष कति आकर्षक रूपमा मेरा अघि देखा पर्‍यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुँदैन । बरु समय बित्दै जाँदा उसले मलाई कति बढी प्रभावित बनाउँदै लग्यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुन्छ । त्यस्ता पुरुषलाई मात्र मैले आदर्श मानें, जसले मलाई भित्रैदेखि प्रभावित तुल्याउन सके । एकपटक मैले जुन पुरुषलाई सम्मान दिएँ, त्यसलाई सधैं मनमा राखें ।

२०४३ सालतिर हुनुपर्छ, म भर्खरै नायिका भएकी थिएँ । नायिका भएपछि जुन सम्मान प्राप्त हुन थालेको थियो, त्यसले म आफू अरूभन्दा विशेष हुँ भन्ने लाग्न थालिसकेको थियो । त्यसैबेला एक जना पुरुष बेला-बेलामा मेरो नजिक हुन्थे र दुई-चार कुरा बोल्थे । मेरो व्यवहार उनीप्रति विशेष हुँदैनथ्यो । किनभने ती पुरुष त्यसबेला चलचित्रका साधारण हास्य-कलाकारका रूपमा चिनिन्थे । समय बित्दै गयो, म पनि लोकपि्रय हुँदै गएँ । उनी पनि लोकपि्रय हुँदै गए । यति हुँदा पनि हाम्रो व्यवहार साधारण नै थियो । मेरो विवाह भयो, उनले पनि विवाह गरे । त्यसपछि भने ती पुरुषले मलाई साह्रै आकषिर्त गर्न थाले । उनको ट्यालेन्सी यति माथि आउन थाल्यो कि उनी अचानक मेरो आदर्श हुन थालें । हुँदाहुँदा मेरो अवस्था यस्तो हुन थाल्यो कि उनका अघि बोल्दा पनि म नर्भस हुन थालें । उनीसँग मेरो खपिनसक्नुको प्रेम हुन पुग्यो । मेरो अभिभावक हुनुहुन्थ्यो, अञ्जली दिदी । उहाँलाई मेरो अवस्था थाहा भयो । उहाँले भन्नुभयो, यसरी नर्भस भएर बस्नुभन्दा यो सम्बन्धलाई विस्तार गर, उहाँका श्रीमान्-श्रीमतीलाई खाना खान बोलाऊ । यसले तिमीलाई सहज वातावरण दिन्छ । मैले उहाँहरूलाई खाना खान बोलाएँ । उहाँहरू दुवैलाई मेरो प्रेमको अन्दाज भएछ क्यार, उहाँहरूले त्यसको सम्मान गर्नुभयो । मेरो वैवाहिक जीवन सुखपूर्वक चलिरहेको छ, तर कुनै आदर्श पुरुष सम्भिmए भने म उनैलाई सम्झन्छु । हरिवंश आचार्य पुरुष सौन्दर्यका हिसाबले आकर्षक नाम होइन, तर उनी करिश्माका लागि आदर्श पुरुष हुन् । (more…)

जनमुखी नेता रूपचन्द्र विष्ट

August 23rd, 2010


बुद्ध थाहा पाएर बुद्ध बने
क्राइष्ट थाहा पाएर क्राइष्ट बने
संसारका सब मानिस थाहाका उपज हुन्
सप्रेका देश थाहा पाएर सप्रे
बिग्रेका देश भ्रम परेर बिग्रे
भ्रमैभ्रममा बाँचेर बिग्रको यो देशको
एउटा नागरिक तपाईं
थाहा पाउनूस्
देश सप्रिन थालिहाल्छ

विसं ०२९/३० तिर जनमुखी नेता रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरु गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए । ‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्त्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो- थाहा पा भाते ! जान् भाते ! बुझ् भाते ! थाहा आन्दोलनको मूल लक्ष्य थियो- चेतनाहीन प्रजाको चेतनासम्पन्न नागरिकमा रूपान्तणमार्फत राजनीतिक र सामाजिक जागरण (या विद्रोह) ।

थाहा आन्दोलनको दार्शनिक आयामलाई आज जोडतोड उठिरहेको सूचनाको हकसँग जोडेर हेर्न सकिन्छ । रूपचन्द्रले प्रतिपादन गरेका ‘थाहा’को गन्तव्य जागरण (या ज्ञानसम्म) पुग्न सूचना या जानकारीको उपलब्धता जरुरी थियो । उनलाई सूचनाको शक्ति राम्ररी थाहा थियो । थाहा आन्दोलनको सबभन्दा ठूलो उपलब्धि के थियो भने यो ज-जसको घर-आँगन पुग्यो, तिनले जीवनमा पहिलोचोटि ‘जान्नु र बुझ्नु (अर्थात् थाहा पाउनु) हाम्रो अधिकार रहेछ’ भन्ने जाने । (more…)

सकारात्मक इच्छाशक्ति नै सफलताको पहिलो बिन्दु हो

July 11th, 2010

अम्बर गुरुङ

अम्बर गुरुङ

विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर ‘हुन सक्दैन’ अथवा ‘गर्न सक्दिन’ भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई केलाउनसकेको छैन कि कसरी ममा सकारात्मक विचार निहित भयो ।

मेरो साङ्गीतिक जीवन यस्तै सकारात्मक विचारबाट प्रेरित भएको छ । त्यसबेला न सङ्गीतका गुरुहरू थिए, न सङ्गीत स्कुल, नत सङ्गीतका पाठयपुस्तक नै । त्यसमाथि धेरैका घरमा जस्तै मेरो घरमा पनि सङ्गीत प्रतिबन्धित थियो । त्यसताका सङ्गीत सिकेपछि मान्छे बरालिन्छ भन्ने धारणा प्रबल थियो । तर त्यस्तो परिस्थितिबाट पनि म विचलित भइन ।

स्वरलिपि अथवा नोटेसन हेरेर अरूले सङ्गीत बजाएको देख्दा म आश्चर्यचकित हुन्थेँ । लाग्थ्यो, ‘म आफू पनि एकदिन त्यसरी नै बजाउन सक्ने हुनेछु ।’ सङ्गीतप्रतिको यस्तो अखण्डित प्रेम र सङ्कल्पले गर्दा नै म पछि गएर धेरैलाई सङ्गीत शिक्षा दिन समर्थ भएँ । मैले अहम्को कुरा गरेको होइन । सङ्गीत विधा अपार र असीमित छ । अहिले पनि म सङ्गीत सिकिरहेको छु । त्यसो त सङ्गीतमात्र किन र ? कुनै पनि ज्ञानको विधा अपरिमित र सीमाहीन नै हुन्छ । मैले यतिमात्र भन्न खोजेको हुँ, सकारात्मकता नै इच्छाशक्तिको त्यस्तो बीज हो, जसले कालान्तरमा सफलताको सुगन्धित फूल र रसिलो फल फलाउन सक्छ । सिर्जनशीलता अथवा ‘क्रिएटिभिटी’को लागि चाहिने ऊर्जा कल्पनाशीलता हो । नकारात्मक विचारबाट ग्रसित व्यक्तिले कल्पना गर्न सक्दैन अथवा गर्दैन । (more…)

हजारौंको यस्तै विश्वास र भरोसा पाएको सम्झँदा मेरो छाती चौडा हुन्छ ।

July 5th, 2010

भगवान कोइराला

भगवान कोइराला

प्रतिबद्धता, निरन्तरता र सफलता – मेरो जिन्दगी, मेरो विश्वास

म ०५८ सालमा गंगालाल हृदयरोग केन्द्रमा निर्देशकको रूपमा प्रवेश गरेँ । यो ठाउँमा पहिले छालाजुत्ता कारखाना थियो । म आउँदासम्म पनि यहाँ छाला कारखानाको अवशेष र गन्ध बिलाइसकेको थिएन । अस्पताललाई राम्रो बनाउन धेरै कुरा गर्नु आवश्यक थियो ।

त्यही बेला मैले अठोट गरेँ: “यो अस्पताल अरूभन्दा भिन्न बनाउँछु । त्यसनिम्ति म आफ्नो काममा रमाउँछु र सधैं कटिबद्ध भएर लागिरहन्छु ।” आफ्नो पेसासँग रमाउनसके पेसाप्रतिको रुचि, लगाव, मिहेनत बढ्छ । पेसाप्रति उत्कट चाहना पलाउँछ । उत्कट चाहनासहित गरेको कामको परिणाम अतुलनीय पनि हुन्छ । म यो पेसामा साँच्चै रमाएको छु ।

ममा यस्तो विचार र विश्वास धेरैपछि पलाएको हो । अमेरिकाको एउटा प्रशिक्षणबाट र्फकने क्षणमा त्यहाँका शिक्षकहरूले “नेपालमा गएर के गर्छस्” भनेर सोधे । मैले भनेँ, “थाहा छैन, तर म जान्छु ।” हुन पनि नेपाल फर्किएर के गर्ने भन्नेबारे मेरो दिमागले केही सोचेकै थिएन । तैपनि आफ्नै देशमा केही गर्छु भनेर आएँ । त्यो बेला मसँग “जहाँ जे छ, त्यहाँ त्यसैलाई आधार बनाएर काम गनुपर्छ” भन्ने विचारमात्र थियो ।

म गंगालालमा प्रवेश गरेकै साल ‘ओपन हर्ट सर्जरी’को सुरुवात भयो । अवस्था कठिन थियो । आज सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । पर्याप्त उपकरण थिएनन् । किन्नका लागि आवश्यक रकम थिएन । तर मैले हार मानिन । सहकर्मीहरूलाई समेटेर दिन-दिनको कार्यक्रम बनाएँ । आवश्यक नियम बनाएर आफूले पालन गरेँ र गराएँ । अस्पतालको उन्नतिलाई सम्पूर्ण कर्मचारीको गन्तव्यको रूपमा स्थापित गराएँ । एकपछि अर्को गर्दै आउने समस्याले अवरोध पुर्‍याउने हुन् कि भन्ने डर पनि यदाकदा लाग्थ्यो । तर काम गर्दै जाँदा थाहा भयो, समस्या त कामप्रति इमानदार नहुनेलाई पो ठूलो बाधा बन्दोरहेछ ! आफूले तनमन दिएर काम गरे, साथ दिनेहरू कैयौं निस्कँदा रहेछन् ! एकजना उद्योगपतिले अस्पतालको विकासका लागि १ करोडभन्दा माथिसम्म चन्दा दिए । कति गृहिणीले आफ्नो घरखर्चबाट रकम बचाएर पनि चन्दा दिएका छन् । भन्दा यो कुरा सामान्य लाग्छ । तर यसको महत्त्वलाई म भित्री तहमा अनुभव गर्छु । त्यस्तो चन्दाकै कारण कैयौं गरिब र कुनाकाप्चाका मानिसले मुटुरोगको उपचार पाउनसकेका छन् । यसलाई म आफ्नो पेसाप्रतिको इमानदारी र कटिबद्धताको परिणाम ठान्छु ।

मुटुको शल्यक्रिया ! जीवन र मृत्युबीच खेलिरहनुपर्ने काम हो यो । यस्तो सम्झँदा पहिले डर लाग्थ्यो । तर आजकल शल्यक्रिया एउटा आवश्यता बनेको छ । आफ्नो पेसाप्रति म यति अभ्यस्त भइसकेको छु कि कुनै दिन अस्पतालमा महत्त्वपूर्ण काम नगरी घर र्फकंदा खल्लो लाग्छ । यही अस्पतालमा मैले अहिलेसम्म मुटु र रक्तनलीको समेत गरेर सात हजारजनाको शल्यक्रिया गरिसकेको छु । ९६ प्रतिशत शल्यक्रिया सफल भएका छन् । (more…)

आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ…

July 2nd, 2010

कर्ण शाक्य

कर्ण शाक्य

(होटल व्यवसायी तथा लेखक)

म सकारात्मक सोचमा विश्वास गर्छु

म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।

म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।

मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ । (more…)

RSS Feed

Search