Archive for the ‘बिचार (अनलाइन बहस)’ Category

किसुनजी, गान्धी र ओशो…

September 3rd, 2010

- प्रदीप गिरी

२०४७ सालको संसदीय चुनाव सम्पन्न भइसकेको थियो । किसुनजी प्रधानमन्त्री रहनुभएको थिएन । बालुवाटारबाट उही कुपनडोलको भान्जागृहमा फर्किसक्नुभएको थियो । सदाझैं उहाँको उपराह्नको छिँडीको दरबार-ए-आम चलिरहेको थियो । भर्खरै तिलचामलतिर लम्केका एक सुदर्शन पुरुष त्यहाँ झुल्किनुभयो । नियमित पुरुष परीक्षा भयो । उहाँ अरूण सिंह हुनुहुँदो रहेछ । किसुनजीसँग पहिले भेट भइसकेको र किसुनजीका मित्रद्वयका छोरा । ओशोसँग दीक्षित भइसक्नुभएका अरूण सिंहले नागार्जुनमा गुरुकै नाम एक तपोवन स्थापित गर्नुभएको रहेछ । त्यस ओशो तपोवनको कदाचित् पहिलो महत्त्वपूर्ण समारोह हुनजाँदै थियो । त्यतिन्जेलमा अरूण सिंहमात्र नरहेर तपोवनका आचार्य एवं स्वामी आनन्द अरूण भइसकेका तर पेसाले इन्जिनियर रहेका उक्त महानुभावले किसुनजीलाई ओशो समारोहमा आमन्त्रित गर्नुभयो । तिनताक ओशोका बारेमा निकै बाक्लो अज्ञान र अपवाद थियो । त्यस्तो समारोहको प्रमुख अतिथि हुनु एक पूर्वप्रधानमन्त्रीका निम्ति निरापद थिएन । तर सहज साधनाका पथिक किसुनजीलाई तपोवन जान पटक्कै अप्ठेरो भएन । किसुनजी तपोवन पुग्नुभयो । ओशोका बारे थोरबहुत बोल्नुभयो । तपोवनको उत्तरोत्तर प्रगतिको सतस कामना गर्नुभयो ।

यी वर्षहरूमा किसुनजीका कामना के कति पूरा भए, हामीलाई थाहा छैन । तर यता तपोवनले भने साँच्चै नै धेरै प्रगति गरेको छ । तपोवनका साधकहरूको विशेषतः स्वामी आनन्द अरूणको निष्ठा र समर्पणले गर्दा यो संस्था देश र विदेशमा समेत प्रतिष्ठित छ । पछिल्लो आइतबारका दिन यस तपोवनमा किसुनजीको ८६ औं जन्मोत्सव समारोह मनाइयो । यस्तो समारोह यशेष्णाका यात्रु कुनै पनि राजनेताका निम्ति ईष्र्याको विषय हुनसक्छ । तर किसुनजी राजनेतामात्र होइन, यसैले यस्तो समारोह सम्भव भएको हो । नेपालको राजनीतिक शीर्षमा रहँदासमेत आत्मानुसन्धान किसुनजीको व्यक्तित्वको एउटा महत्त्वपूर्ण आयाम थियो । किसुनजीलाई किञ्चितमात्र चिन्ने-जान्ने व्यक्तिले यस कुरालाई बुझेको हुनुपर्छ । नबुझेकालाई यस कुरोको प्रामाणिक दशीसमेत देखाउन सकिन्छ । यस आयामले गर्दा नै किसुनजी ओशो तपोवनको आयोजनमा सम्मानित हुनुभएको हो ।

ओशो शिक्षाको एउटा अत्यन्त महत्त्वपूर्ण पक्ष धर्म र धार्मिकताको अन्तरको सूक्ष्म विवेचना हो । ओशोले संगठित धर्मलाई कहिल्यै महत्त्व दिनुभएन । उहाँले संगठित धर्मलाई चट्टानको संज्ञा दिनुभएको छ । तर धार्मिकता भने सतत कलकलाउँदी कलावती नदी हुन् भनी उहाँ भन्नुहुन्छ । सारा नदी अनन्तः एउटै महासागरमा पुग्छन् । त्यस्तै प्रत्येक उपासना पद्धति एउटै ठाउँमा पुग्छ भन्ने भगवत् गीता समेतको वचन छ । रामकृष्ण परमहंस यसलाई आफ्नो गाउँले शैलीमा ‘जतो मतो ततो पथो’ भन्नुहुन्थ्यो । गान्धीजीको प्रार्थना सभामा सबै धर्म र सम्प्रदायको भजन अनिवार्य रूपमा गाइन्थे । ईश्वर अल्लाह तेरे नाम गान्धीको पि्रय भजन थियो । गान्धी यस्ता अभ्यासबाट धर्मभित्र धार्मिकता खोज्नुहुन्थ्यो । गान्धीका शब्दमा उहाँ धर्मको ‘आधारभूत धर्म’को मात्र उपासक हुनुहुन्थ्यो । धर्मको बाह्य प्रतीकसँग गान्धीलाई मतलब थिएन । स्वभाव, व्यक्तित्व र अभिरूचिले गर्दा गान्धी र रामकृष्ण परमहंसले धर्म र धार्मिकताको अन्तर छुट्याएका छैनन् । त्यो काम ओशोले गर्नुभएको छ । ओशोका प्रवचनमा धर्म र सम्प्रदायले पेवा बनाएका वा बनाउन नसकेका प्रत्येक जागृत पुरुषको व्याख्या र अभ्यर्थना छ । ओशो प्रवचनमा कृष्ण र ईशा, मोहम्मद र रूमी, रमण र उमर खैयाम, गुरजियफ र कृष्णमूर्ति सबै उपस्थित छन् । त्यहाँ कवीर र मीरा छन् भने शिवपुरी बाबा र अष्टावक्रसमेत छन् । उमर खैयामका रूवाइमा बंगालका बाउल नाच्छन् । मीराका तानमा सुफी नृत्य हुन्छ । कवीरको मूर्तिभञ्जनमा रामकृष्ण परमहंसको काली मन्दिर छ ।

रामकृष्ण परमहंसको साधनाको कथाको वैचित्र सर्वविदित छ । उनी हनुमान भएर रामको उपासना गर्थे । उनी कृष्णको पूजा गर्दा अक्षरशः गोपिनी बन्थे । इस्लाम बुझ्न त्यस्तै खानपिन अपनाउन खोज्थे । उनलाई तोतापुरीले वेदान्तको निराकार सिकाए । तर अनन्तः साकार अर्थात् कालीमा रमाए । ओशोलाई पढ्दा यस्तै अनुभूति हुन्छ । ओशोको गीता दर्शन पढ्दा उनी फट्ट हिन्दु हुन् कि भन्ने भान पर्छ, तर कवीरका उपर कवीरहा हुन्छन् । महावीरको प्रवचनमा जैन हुन्छन् । सुफीका बारे गाउँदा यो खुसरो हुन्छन् । ओशोको यो आध्यात्मिक उडानको रहस्यको बारे यी पंक्तिकार केही भन्न असमर्थ छ । ओशो मूलतः रहस्यदर्शी हुन् । तर गान्धी र किसुनजीको जीवन अपेक्षाकृत खुला छ ।

गान्धी र किसुनजीमा एउटा अद्भुत समानता छ । दुवैले आफूलाई हिन्दु भन्छन् । तर दुवैको जीवनशैलीमा हिन्दुधर्मको कर्मकाण्ड र आचारशास्त्रको समेत कुनै स्थान छैन । प्रत्येक धर्मले संगठित रूपले पूजाआजा, खानपिन, छुवाछूत, बिहेबारी र जारीसमेतका निम्ति निश्चित जरिमाना, दण्ड, पुरस्कार र प्रायश्चितसमेत तोकेका छन् । सबै संगठित धर्म खास गरेर खाने-पिउने र स्त्री-पुरुषको संसर्गलाई लिएर विशेष व्यग्र रहन्छ । सारा शास्त्र र विधिविधान यसैका निम्ति लेखिन्छ । गान्धी र किसुनजीले खाद्य-अखाद्य, गम्य-अगम्य नियम कहिल्यै वास्ता गरेनन् । झट्ट हेर्दा गान्धीको खानपिनमा केही नियम देखिन्छ, तर ती नियम रवीन्द्रनाथ ठाकुरदेखि सरोजिनी नाइडुका निम्ति सटिक परिहासको विषय थियो । रह्यो यौन जीवनको कुरा । गान्धीजीको यौन जीवन वा बह्मचर्यको प्रयोगले उहाँको जीवनमै विशाल विवादलाई जन्म दिएको थियो । कुनै समय ओशोले प्रवचन गर्नुभएको संभोग से समाधि तक भन्ने कृतिका बारेमा ठूलो हडकम मच्चेको थियो । त्यो पुस्तक पढ्दै नपढेकाले यस्तो हडकम मच्चाएका थिए । तर गान्धीको ब्रह्मचर्यको विवाद झन् उग्र थियो । त्यस कोटी विवाद ओशोका बारे कहिल्यै भएन । विचरा किसुनजीको के कुरा ? तर यति भएर पनि गान्धी महात्मा कहलाए । किसुनजीलाई समेत अस्तिको समारोहमा राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै रामचन्द्र पौडेलले पनि सन्त नेता भन्न भ्याए । आखिर यसको रहस्य के हो ? यो रहस्य बुझ्नका निम्ति ओशोको समिप पुग्नुपर्छ । धर्म र धार्मिकताको सूक्ष्म विवेचना गर्न गान्धी र किसुनजीले भ्याउनुभएन । उहाँको त्यो धन्दा पनि भएन । तर यो काम ओशोले गर्नुभएको छ र अद्भुत नै गर्नुभएको छ ।

सामान्यतः ओशोलाई गान्धीवादका आलोचकका रूपमा चिनिन्छ । ओशोले गान्धीको आलोचना पनि गर्नुभएको छ । प्रत्येक माया गरेको र अपेक्षा राखिएको व्यक्तिको आलोचना गरिन्छ । तर ओशोलाई गान्धीको आलोचक भन्नु एक छिपछिपे पाठ हुनेछ । ओशोले गान्धीलाई अत्यन्त अन्तरंगका रूपमा बुझ्नुभएको थियो । हिजोमात्र स्वामी आनन्द अरूणले ओशोको डायरीको उद्धरण  सुनाउनुभयो । ओशोले २९ वर्षकै उमेरमा गान्धीको निष्काम कर्मयोग र स्थितिप्रज्ञको बेमिशाल व्याख्या गर्नुभएको रहेछ । यस्तो व्याख्या गद्यमा सम्भव छैन, त्यो कविको काम हो । तर अहिले त्यता नजाउ । भन्नु यति छ, गीताका अनन्य उपासक किसुनजीका जीवनमा स्थितिप्रज्ञताको यस्तै झझल्को भेटिन्छ ।

सामान्यतः धर्म, राजनीति र अध्यात्मलाई एक ठाउँमा राख्नेबित्तिकै नैतिकताको प्रश्न उठ्छ । राजनीति र नैतिकताको सम्बन्ध के हो भन्ने कुरो इतिहासिक चिन्ताको विषय रहेको छ । एकथरीको राजनीतिले साध्य र साधनमा कुनै सम्बन्ध देख्दैन । लक्ष्य राम्रो छ भने तात्कालिक राजनीतिमा जेजस्तो रणनीति गरे हुन्छ भन्छन् । ओशो तपोवनमा भएको किसुनजीको अभिनन्दनले यो प्रसंग अवश्य पनि कोट्याएको थियो । राष्ट्रपति, प्रधानमन्त्री, रामचन्द्र पौडेलसमेतले यसतर्फ संकेत गरे । किसुनजीले व्यावहारिक राजनीतिका नाउमा सानोतिनो कागज गरेर वा वक्तव्य दिएर जेलबाट छुट्न चाहनुभएन । उहाँका नेता र अग्रजहरू छुट्नुभयो । उहाँले ०१७ सालपछि नेपाली कंग्रेसले गरेको हिंसात्मक संघर्षका पक्षमा आफूलाई उभ्याउन सक्नुभएन । उहाँले एक्लै नै सत्याग्रहको विगुल फुक्नुभयो । आखिर किसुनजीकै बाटोबाट नेपालमा संसदीय प्रजातन्त्र पुनःस्थापित भयो । अहिलेको यो गणतन्त्र पनि जनयुद्धको सफलताबाट मात्र कदापि आएको होइन । माओवादीको जनयुद्ध एक अकाट्य तथ्य अवश्य हो, तर त्यो जनयुद्ध जनआन्दोलनको भागीरथीमा मिसिएपछि मात्र दोस्रो जनआन्दोलन सफल भएको हो । तदनुरूप दोस्रो जनआन्दोलन पनि किसुनजीको बाटोको विजय हो । सबै राजनीतिज्ञहरूले यस तथ्यलाई रेखांकित गरे । यस तथ्यको अनुभूतिले नै गर्दा अध्यक्ष प्रचण्ड पनि कदाचित् ओेशो तपोवन पुग्नुभएको थियो । स्वामी आनन्द अरूणले पनि यावत कुरालाई आफ्नो शुभकामनामा दोहोर्‍याउनुभयो । तर आफ्नो पृष्ठभूमिअनुसार स्वामी आनन्द अरूणले राजनीतिज्ञहरूले भन्दा एउटा बेग्लै कुरा पनि भन्नुभयो । धार्मिकता र अध्यात्मका दृष्टिकोणले त्यो ज्यादा प्रासंगिक छ ।

मनुष्य जातिको सुदीर्घ इतिहासमा एउटा विचित्रको कुरा देखिएको छ । बडाबडा राजा-महाराजाहरू आउँछन्, एकसेएक शास्त्रकार, विद्वान र मठाधीस जन्मन्छन् । सारा समाजले तिनको पूजा गर्छन् । ती ब्रह्मवेत्ताले बताएका कर्मकाण्डको समाजले अनुशरण गर्छ । समाजको दैनिकी यसरी नै चल्छ । बिहेबारी, न्वारन, काजकिरिया यसरी नै हुन्छन् । तर एकाएक साधु आउँछ घरद्वार, जन्म-न्वारन, बिहे, वर्तबन्ध र काजकिरिया छाडेर जोगी बन्छ । समाजले त्यस जोगीलाई एकाएक राजा-महाराजाभन्दा बढी सम्मान दिन थाल्छ । राज्यलाई तिरो तिर्छ । त्यस जोगीलाई प्रेम दिन्छ । गौतम बुद्ध, महावीर र ओशो यस्तै परम्पराका पथिक भए । यही बाटोमा गान्धी हिँडेका हुन् । गान्धीमा विद्वता पटक्कै थिएन । आचण पनि हिन्दुवादी थिएन । तर गान्धीले सत्तासम्पदा, प्रशंसाको वास्ता नगरी फकिरको वाना लगाए । सिंगो भारत यिनका पछि हिँड्यो । गान्धीले बुद्धको श्रमण परम्परा पक्डे । सिंगो भारत ब्राह्मण परम्परामा बाँचेको छ । तर सहर्ष सिंगो भारत गान्धीका पछि लाग्यो । अस्तिको समारोहमा स्वामी आनन्द अरूणले किसुनजीको व्यक्तित्वको यस पक्षलाई उजागर गर्नुभयो । किसुनजीमा प्रधानमन्त्री नियुक्त हुँदा कुनै उल्लाहास देखिएन । प्रधानमन्त्री पद छाड्दा कुनै विस्मात भएन भन्ने स्वामी आनन्द अरूणको विशेष टिप्पणी थियो । किसुनजीले दुईपटक सहर्ष बालुवाटार छाड्दा धेरै पर्यवेक्षकले यस तथ्यकातर्फ ध्यानाकृष्ट गरेका थिए । तर अस्तिको समारोहमा स्वामी आनन्द अरूणले यो कुरो भन्दा विशेष अर्थवान भएको थियो । त्यसदिन उपस्थित हुनुभएका राजनीतिज्ञहरूले अरू सबै कुरा सम्भिmनुभयो, तर यो कुरो भन्न भ्याउनुभएन । स्वामी आनन्द अरूणले भने यो कुरा भन्न भ्याउनुभयो । आजको नेपालको राजनीति सत्ताको निम्ति भइरहेको मारामारको रछ्यान भएको छ । यस्ता बेलामा किसुनजीको व्यक्तित्वको यो पक्ष कदाचित् सर्वाधिक प्रासंगिक भएको छ । ओशो तपोवनले अथक प्रयास गरेर किसुनजीको जन्मोत्सव आयोजन गरेर हामी सबैको मन जितेको छ । स्वामी आनन्द अरूणको उपयुक्त कथनले उहाँले औंल्याउनुभएको विशिष्टता अझ ज्यादा मननीय छ ।

तुलसीदास मेरा अत्यन्त्र पि्रय कवि हुनुहुन्छ । स्वामीजीलाई तुलसीदासमा विशेष अभिरूचि मैले देख्दिन । ओशोलाई पनि थिएन जस्तो छ । तर यहाँ एक अचम्मको संयोग भएको छ । मर्यादा पुरुषोत्तम रामसँग किसुनजीको तुलना गर्नु ठूलो धृष्टता हुनेछ । स्वयम् किसुनजीले यसको घोर प्रतिवाद गर्नुहुनेछ । तर साहित्यिक दृष्टिकोण मात्रले भए पनि स्वामी आनन्द अरूणको कथनको भाष्यका निम्ति एउटा श्लोक उद्धृत गर्ने लोभ मैले संवरण गर्न सकिन । श्लोक यस प्रकार छ ः

प्रसन्नतां या न गताभिषेकतस्तथा न मम्ले बनवासदुः खतः ।

मुखाम्बुजश्री रघुनन्दनस्य मे सदास्तु सा मञ्जुलमंगलप्रदा ।।

उपर्युक्त श्लोक अयोध्या काण्डको मंगालाचरण हो । रामचन्द्रको वनवास जाने प्रसंगलाई सम्भिmँदै तुलसीदास भन्नुहुन्छ । अभिषेकमा प्रशन्न नहुने जंगल जाँदा दुःखी नहुने अभिराम रामले मेरो सधैं कल्याण गरुन् । रामको यस चरित्रमा आदर्श राजनीतिज्ञको सत्ताप्रतिको दृष्टिकोणको झझल्को छ ।  स्वामी आनन्द अरूणले किसुनजीको यसै पक्षलाई मात्र महत्त्व दिनुभएको हो

सपनाका मलामीहरू – खगेन्द्र संग्रौला

January 31st, 2010

यो भयो दुई दिनअघि। अनिश्चय, अन्यौल र भय व्याप्त राजनीतिक डबलीमा दुई प्रकारका पात्र र प्रवृत्ति हाराहारी दृश्य र चर्चामा आए। कैलालीको रगतपच्छे त्रासदीबाट तर्सेका सत्तापक्ष र प्रतिपक्षले सिंहदरबारमा हठात् भेट गरे। भेटमा माउ तीन दलका माउ नेता हाजिर भए। भिडन्तको भुतभुते निभाउने मनसुवाले नेताश्रीले संवादको म्यादी चौतारी बनाउने मतो गरे। र, संवादको ढोका खोल्न तिनले त्रिदलीय कार्यदलसमेत गठन गरे। यो आकस्मिक भेट, यो हत्पते मतो र यो तदर्थ कार्यदल हँसिया आकारको जून नभए पनि औँसीको पिलपिले जूनकीरीको प्रतीक भने पक्कै हो। उही दिन एउटा सानो झुन्ड भिक्षाका लागि हात पसार्दै राष्ट्रपति यादवकहाँ पुग्यो। र, राष्ट्रपतिलाई धनुषटंकार मुद्रामा जदौ गर्दै झुन्डले भिक्षा माग्यो। भिक्षाको अभिप्राय खतरनाक थियो। दासवत् मुद्रामा झुन्डले करुण पुकारा गर्‍यो – महामहिम प्रभु! संविधानसभाको म्याद थप नगराइ पाऊँ। कृपाकारी हजुरबाट हाम्रो उद्धारार्थ दह्रो कदम चालीपाऊँ। जो हुकुम, जो निगाह ख्वामित्! सदैव हजुरका बफादार ताबेदार हामी हौँ – कुलबहादुर गुरुङ, गोविन्दाराज जोशी, विनयध्वज चन्द एवं अन्यहरू।


छातीमा मुड्की ठोकेर यो भिक्षार्थी झुन्ड भन्छ – खाँट्टी काङ्ग्रेसी मै हुँ। अजीवको पार्टी हो नेपाली काङ्ग्रेस, जसमा फूल, पात र पत्करको उदेकलाग्दो समागम छ। र, यस घडीमा यस पार्टीमा पत्करहरूको खासखुस, चलखेल र जालझेल बढ्दो छ। सबुतमा शीतल निवासमा दुःख बिसाउन र राष्ट्रपतिलाई उक्साउन पुगेको दुखीगण गण हाम्रासामु छ। यो दुःखीगण जब राष्ट्रपतिलाई पम्प भर्न यत्नशील थियो, त्यस क्षणमा वायुमण्डलमा आधाजसो बुझिने एउटा स्वर गुन्जिरहेको थियो। त्यो स्वर थियो देउवा गुरुको। गुरुजी भन्दै थिए – शान्ति सम्झौताका बाचा सम्झेर सहमति र सहकार्यको बाटो उघारौँ। उही सम्झौताका सर्तबमोजिम सेना मिलान र व्यवस्थापन गरौँ। खाँचै परे संविधानसभाको म्यादै थपौँ। यता काङ्ग्रेसी श्री देउवाका वचनमा शान्तिको कामना थियो, उता काङ्ग्रेसी दुःखीगण श्री देउवाको यो पवित्र कामनामाथि बन्चरो बजार्न आतुर थियो।
सम्झना छ, राष्ट्रपतिका चरण कमलमा आँसु झार्न जाने यो झुन्ड सदैव, निरन्तर र अथक राजतन्त्रप्रेमी भइआएको हो। यसले पहिले दह्रो राजा राख्न कम्मर कस्यो, तर सकेन। त्यसपछि यसले ठीकैको राजा राख्न (more…)

सलाम जनमुक्ति सेनालाई – खगेन्द्र संग्रौला ।

January 31st, 2010

सलाम जनमुक्ति सेनालाई

- खगेन्द्र संग्रौला

जनसेना दिवसको यो विशाल कार्यक्रममा आउनुभन्दा अगाडि यसमा आउने कि नआउने भन्ने विषयमा मेरो मनमा द्विविधा थियो । यो कार्यक्रम आधासम्म हेरिसकेपछि मलाई के लाग्यो भने यदि म यहाँ नआएको भए देशको एउटा वास्तविकताको पाटो मेरो आाखाबाट गुम्ने रहेछ । मलाई निम्ता गर्ने साथीहरू र मलाई यहाँ आउन कर गर्ने साथीहरूलाई म धन्यवाद दिन्छु ।

म माओवादी होइन । त्यसो त म खाओवादी पनि होइन । म एक सचेत नागरिकको दृष्टिकोणबाट जनमुक्ति सेना नेपालले परिर्वतनका क्रममा गरेका योगदानहरू त्यसको स्थान र दायित्वका बारेमा केही टिप्पणी गर्न चाहन्छु । मैले रुसी र चिनियाँ साहित्यको नेपालीमा धेरै अनुवाद गरेा । रुसी साहित्य र चिनियाँ साहित्यको अनुवाद गर्दा मेरो सम्पर्कमा छापामारहरू आएका थिए । जनसेना आएको थियो । तिनको टोपी, टोपीमा लगाउने रातो तारा र तिनले लगाउने कम्ब्याटको मैले नेपालीमा रूपान्तरण गरेको थिएँ । आज मैले मेरो मातृभूमिको आागनमा नेपाली समाजलाई शोषण, विभेद र अत्याचारबाट मुक्त गर्नका निम्ति आफ्नै आासु र पसिनामा पौडी खेल्दै यहाँसम्म आएको जनसेनालाई देखेको छु । त्यसबाट म गौरवान्वित भएको छु । म हषिर्त भएको छु । सुगौली सन्धिपछि नेपालको सामाजिक न्यायको सङ्ग्राममा सबैभन्दा ठूलो युद्ध लडेको भनेको माओवादी नेतृत्वमा रहेको जनसेना नै हो । सुगौली सन्धिभन्दा अगाडि नेपालीहरूले वीरतापूर्ण लडाइा लडेका हुन् । ती लडाइा विदेशी शत्रुविरुद्ध लडिएका थिए ।  (more…)

RSS Feed

Search