मित्रता…
August 28th, 2010

मेरो जीवन कुनै टेलिधारावाहिक जस्तो छ । एउटा शृंखलामा एउटा कथा र अर्कोमा अर्को । मेरो मित्रताको कथा त्यस्तै छ । मित्रताको विषयमा म जटिल छु । अमेरिका जानुअघि मेरा जो साथीहरू थिए, ती साथी उताबाट फर्किएपछि मसंग नजिक भएनन् । अमेरिकामा पढुन्जेल जो साथी बने, ती अहिले मेरो सम्पर्कमा छैनन् । टेलिभिजन च्यानलहरूमा काम गर्दा जो साथी थिए, तीसँगको सम्बन्ध ‘हेल्लो, हाई’ मा सीमित छ । वास्तवमा मेरो जीवनमा कहिल्यै साथी भएनन् । मित्र भनेका सुखमा रमाउने र दुःखमा साथ दिने हुनुपर्छ । मेरा त्यस्ता साथी कोही छैनन् । हो, एक जना छिन्- झरना बज्राचार्य । मैले करियर सुरु गर्दादेखि नै उनी मेरो साथी हुन् । १२-१३ वर्षभन्दा पनि बढि भयो । उनी नै एकमात्र साथी हुन् जो मेरो जीवनमा यत्तिको समय टिकिरहेकी छिन् । उनी आफ्नो जीवन आफ्नै शैलीमा बाँचिरहेकी छिन् म आफ्नै तरीकाले बाँचिरहेको छु, तर हामीबीच असल साथीको सम्बन्ध अटुट रूपमा छ । यसको अर्थ मैले होइन, उनले मसँगको मित्रता टिकाइरहेकी छिन् । यहाँसम्म कि ‘कोही मेरो’मा सञ्चिताको भन्दा उनको भूमिका सानो छ । मलाई थाहा छ, उनले मित्रता टिकाउनैका लागि त्यो भूमिका स्वीकार गरेकी हुन् । करियर सुरु गर्ने बेलामा मैले सञ्चिता र झरनालाई एउटै चलचित्रमा काम गराउँछु भनेको थिएँ । त्यो ‘कमिटमेन्ट’ पनि मैले यो चलचित्रबाट पूरा गरेँ ।
अहिले मेरो अर्को साथी छ, आर्यन सिग्देल । आर्यन मलाई साथीभन्दा पनि भाइजस्तो लाग्छ । कुनै बेला यस्तो थियो कि मानिसहरूको कुरा सुनेर हाम्रो चिनजान अघि बढ्न नपाउँदै चिसोपन उत्पन्न भएको थियो । मानिसहरू उसले मेरा बारेमा कुरा काटेको सुनाउँथे । अनि मलाई उसले किन त्यसो भनेको होला भन्ने लाग्थ्यो । कतै आमुन्ने सामुन्ने भइयो भने पनि कुरा गर्दैनथियौं । आलोकश्रीको ‘लाजको लाली’ गीतको म्युजिक भिडियोमा उहाँले आर्यन र नम्रता श्रेष्ठलाई खेलाउने कुरा गर्नुभयो । खासमा मलाई आर्यनलाई खेलाउन मनै थिएन । सुटिङमा पनि हामीबीच कामको कुरा मात्र भयो । ‘कोही मेरो’को कथा तयार भएपछि एउटा यस्तो चुलबुले चरित्र तयार भयो, जसमा आर्यन नै सुहाउँथ्यो । ‘ किस्मत’ र ‘मौसम’मा उसको अभिनय मलाई राम्रो लागेको थियो । मैले निर्मातालाई भने र उनीहरूले नै आर्यनसँग कुरा गरे । आर्यनले खुसी भएर मसँग काम गर्न इच्छुक रहेको बताएपछि ऊ ‘कोही मेरो’को नायकमा अनुबन्ध भयो । संगत नगरी मानिसका बारेमा गलत धारणा बनाउनु हुँदैन भन्ने कुरा मैले आर्यनसँगको अहिलेको सुमधुर मित्रताबाट सिकेँ ।





