Archive for July, 2010

सकारात्मक इच्छाशक्ति नै सफलताको पहिलो बिन्दु हो

July 11th, 2010

अम्बर गुरुङ

अम्बर गुरुङ

विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर ‘हुन सक्दैन’ अथवा ‘गर्न सक्दिन’ भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई केलाउनसकेको छैन कि कसरी ममा सकारात्मक विचार निहित भयो ।

मेरो साङ्गीतिक जीवन यस्तै सकारात्मक विचारबाट प्रेरित भएको छ । त्यसबेला न सङ्गीतका गुरुहरू थिए, न सङ्गीत स्कुल, नत सङ्गीतका पाठयपुस्तक नै । त्यसमाथि धेरैका घरमा जस्तै मेरो घरमा पनि सङ्गीत प्रतिबन्धित थियो । त्यसताका सङ्गीत सिकेपछि मान्छे बरालिन्छ भन्ने धारणा प्रबल थियो । तर त्यस्तो परिस्थितिबाट पनि म विचलित भइन ।

स्वरलिपि अथवा नोटेसन हेरेर अरूले सङ्गीत बजाएको देख्दा म आश्चर्यचकित हुन्थेँ । लाग्थ्यो, ‘म आफू पनि एकदिन त्यसरी नै बजाउन सक्ने हुनेछु ।’ सङ्गीतप्रतिको यस्तो अखण्डित प्रेम र सङ्कल्पले गर्दा नै म पछि गएर धेरैलाई सङ्गीत शिक्षा दिन समर्थ भएँ । मैले अहम्को कुरा गरेको होइन । सङ्गीत विधा अपार र असीमित छ । अहिले पनि म सङ्गीत सिकिरहेको छु । त्यसो त सङ्गीतमात्र किन र ? कुनै पनि ज्ञानको विधा अपरिमित र सीमाहीन नै हुन्छ । मैले यतिमात्र भन्न खोजेको हुँ, सकारात्मकता नै इच्छाशक्तिको त्यस्तो बीज हो, जसले कालान्तरमा सफलताको सुगन्धित फूल र रसिलो फल फलाउन सक्छ । सिर्जनशीलता अथवा ‘क्रिएटिभिटी’को लागि चाहिने ऊर्जा कल्पनाशीलता हो । नकारात्मक विचारबाट ग्रसित व्यक्तिले कल्पना गर्न सक्दैन अथवा गर्दैन । (more…)

हजारौंको यस्तै विश्वास र भरोसा पाएको सम्झँदा मेरो छाती चौडा हुन्छ ।

July 5th, 2010

भगवान कोइराला

भगवान कोइराला

प्रतिबद्धता, निरन्तरता र सफलता – मेरो जिन्दगी, मेरो विश्वास

म ०५८ सालमा गंगालाल हृदयरोग केन्द्रमा निर्देशकको रूपमा प्रवेश गरेँ । यो ठाउँमा पहिले छालाजुत्ता कारखाना थियो । म आउँदासम्म पनि यहाँ छाला कारखानाको अवशेष र गन्ध बिलाइसकेको थिएन । अस्पताललाई राम्रो बनाउन धेरै कुरा गर्नु आवश्यक थियो ।

त्यही बेला मैले अठोट गरेँ: “यो अस्पताल अरूभन्दा भिन्न बनाउँछु । त्यसनिम्ति म आफ्नो काममा रमाउँछु र सधैं कटिबद्ध भएर लागिरहन्छु ।” आफ्नो पेसासँग रमाउनसके पेसाप्रतिको रुचि, लगाव, मिहेनत बढ्छ । पेसाप्रति उत्कट चाहना पलाउँछ । उत्कट चाहनासहित गरेको कामको परिणाम अतुलनीय पनि हुन्छ । म यो पेसामा साँच्चै रमाएको छु ।

ममा यस्तो विचार र विश्वास धेरैपछि पलाएको हो । अमेरिकाको एउटा प्रशिक्षणबाट र्फकने क्षणमा त्यहाँका शिक्षकहरूले “नेपालमा गएर के गर्छस्” भनेर सोधे । मैले भनेँ, “थाहा छैन, तर म जान्छु ।” हुन पनि नेपाल फर्किएर के गर्ने भन्नेबारे मेरो दिमागले केही सोचेकै थिएन । तैपनि आफ्नै देशमा केही गर्छु भनेर आएँ । त्यो बेला मसँग “जहाँ जे छ, त्यहाँ त्यसैलाई आधार बनाएर काम गनुपर्छ” भन्ने विचारमात्र थियो ।

म गंगालालमा प्रवेश गरेकै साल ‘ओपन हर्ट सर्जरी’को सुरुवात भयो । अवस्था कठिन थियो । आज सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । पर्याप्त उपकरण थिएनन् । किन्नका लागि आवश्यक रकम थिएन । तर मैले हार मानिन । सहकर्मीहरूलाई समेटेर दिन-दिनको कार्यक्रम बनाएँ । आवश्यक नियम बनाएर आफूले पालन गरेँ र गराएँ । अस्पतालको उन्नतिलाई सम्पूर्ण कर्मचारीको गन्तव्यको रूपमा स्थापित गराएँ । एकपछि अर्को गर्दै आउने समस्याले अवरोध पुर्‍याउने हुन् कि भन्ने डर पनि यदाकदा लाग्थ्यो । तर काम गर्दै जाँदा थाहा भयो, समस्या त कामप्रति इमानदार नहुनेलाई पो ठूलो बाधा बन्दोरहेछ ! आफूले तनमन दिएर काम गरे, साथ दिनेहरू कैयौं निस्कँदा रहेछन् ! एकजना उद्योगपतिले अस्पतालको विकासका लागि १ करोडभन्दा माथिसम्म चन्दा दिए । कति गृहिणीले आफ्नो घरखर्चबाट रकम बचाएर पनि चन्दा दिएका छन् । भन्दा यो कुरा सामान्य लाग्छ । तर यसको महत्त्वलाई म भित्री तहमा अनुभव गर्छु । त्यस्तो चन्दाकै कारण कैयौं गरिब र कुनाकाप्चाका मानिसले मुटुरोगको उपचार पाउनसकेका छन् । यसलाई म आफ्नो पेसाप्रतिको इमानदारी र कटिबद्धताको परिणाम ठान्छु ।

मुटुको शल्यक्रिया ! जीवन र मृत्युबीच खेलिरहनुपर्ने काम हो यो । यस्तो सम्झँदा पहिले डर लाग्थ्यो । तर आजकल शल्यक्रिया एउटा आवश्यता बनेको छ । आफ्नो पेसाप्रति म यति अभ्यस्त भइसकेको छु कि कुनै दिन अस्पतालमा महत्त्वपूर्ण काम नगरी घर र्फकंदा खल्लो लाग्छ । यही अस्पतालमा मैले अहिलेसम्म मुटु र रक्तनलीको समेत गरेर सात हजारजनाको शल्यक्रिया गरिसकेको छु । ९६ प्रतिशत शल्यक्रिया सफल भएका छन् । (more…)

आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ…

July 2nd, 2010

कर्ण शाक्य

कर्ण शाक्य

(होटल व्यवसायी तथा लेखक)

म सकारात्मक सोचमा विश्वास गर्छु

म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।

म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।

मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ । (more…)

RSS Feed

Search