रमेश पाण्डे
विद्यार्थीलाई खुसी पार्नु मेरो धर्म
जिन्दगीका ३८ हिउँद-वर्षा मैले शिक्षण पेसामा बिताएँ । यो पेसामा कसैको चाकरी गर्नु पर्दैन, कसैसँग सम्झौता गर्नु पर्दैन, त्यसैले मैले यो पेसा रोजेँ । यो पेसाले मलाई सधैं स्वतन्त्र रहन दियो । एउटा शिक्षकका रूपमा मैले कहिल्यै पनि स्वविवेक र अन्तरआत्माको आवाजलाई बेवास्ता गर्न र सत्यको साथ छाड्नुपरेन ।
त्रि-चन्द्र कलेज, नेपाल कमर्स क्याम्पस, शंकरदेवदेखि लिएर काठमाडौं विश्वविद्यालयको एउटा सेमेस्टर र हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले २०/२२ हजार विद्यार्थीलाई पढाए हुँला । मेरा विद्यार्थीका लागि म कहिले अभिभावक बनेँ, कहिले साथी, कहिले पथप्रदर्शक त कहिले निरीक्षक बनेँ । यी सबै भूमिकामा मैले सधैं अधिकतम र कमजोर विद्यार्थीका लागि लडेको छु, मैले तिनलाई गर्नसक्ने जति न्याय गर्ने प्रयास गरेको छु । मेरो कक्षा लिनआउने विद्यार्थीहरूलाई मैले कहिल्यै छुट्टै टयुुसन पढाइन । उनीहरूका लागि म चौबीसै घन्टा उपलब्ध हुन्थेँ, टेलिफोनमा, बाटोमा, चियापसलमा । मलाई जहाँ भेटेर भए पनि विद्यार्थीले आफ्ना प्रश्न र समस्या राख्थे ।
मेरो जीवनमा अभावहरू नभएका होइनन् । कठिनाइ अवश्य थियो । तर श्रीमतीको र मेरो इमानदार कमाइले हामीलाई व्यवहार धान्न पुगेकै थियो । आफ्नो विश्वास बेचेर मैले विद्यार्थीहरूमाथि अन्याय गर्न चाहिन । टयुुुुसन पढाउनतिर लाग्दा टाढा-टाढाबाट आएर क्याम्पसको कोठामा, बेन्चमा, डेस्कमा, भुइँमा, झयालमा बसेर र उभिएरै पनि मेरो कक्षा लिन चाहने विद्यार्थीमाथि मैले अन्याय गर्न सक्दिनथेँ । आश र त्रासले मान्छेलाई सम्झौता गर्न, झूट बोल्न र झुक्न बाध्य पार्छ । आश र त्रास राखेको भए म पनि रजिष्ट्रार, रेक्टरजस्ता पदमा पुर्याइन्थेँ होला । तर मलाई कहिल्यै त्यो चाह भएन । विद्यार्थीहरूको सफलतालाई नै मैले आफ्नो सफलता र उनीहरूको असफलता आफ्नो असफलता मान्दै झन्डै चार दशक बिताएँ । मेरो शैक्षिक जीवनको पचहत्तर प्रतिशतभन्दा बढी हिस्सा शंकरदेव क्याम्पसमा बित्यो । मेरो कक्षा धेरैजसो बिहानी सत्रको पहिलो पिरियड हुन्थ्यो । प्रायःजसो सवा ६ बजे सुरु हुने मेरो कक्षामा सवा ६ ठीक सवा ६ बजे नै बज्थ्यो, न एक मिनेट छिटो, न एक मिनेट ढिलो । मेरालागि सबैभन्दा ठूलो कुरा मेरो कक्षा नै हुन्थ्यो । मलाई कहिल्यै पनि हुरीपानीले कक्षामा पुग्न छेकेनन् । ४६ सालको आन्दोलनमा चैत २४ गतेदेखि कफर्यु लाग्यो । २३ गतेका दिन बाहिर गोली चलिरहँदा भित्र म कक्षा लिइरहेको थिएँ । ३८ वर्ष पढाउँदा पढाइ भएकाबखत मुस्किलले ३८ दिन कक्षामा अनुपस्थित भएहुँला, आँखाको अपरेसन या अरू कुनै आकस्मिकताका कारण । बैसठ्ठी सालमा आँखामा मोतियाविन्दुको अपरेसन गरेको बखत तीन दिन विदा बसेँ । खासमा अपरेसन पनि विदाकै बेला पारेको थिएँ । तर पनि तीन दिन कक्षा छोड्नु नै पर्यो । त्यति धेरै समय लगातार विदामा पहिले कहिल्यै बसेको थिइन, पछि पनि बसिन । कुनै दिन शरीर आलस्य र काम गर्न कठिन भयो होला, तर कक्षा लिने सवालमा ती कुरा कहिल्यै बाधक बनेनन् । सायद कक्षाप्रतिको आशक्ति र अनुशासन चेतनाले त्यस्तो भयो होला । अनुशासनको घेराले जिन्दगीलाई एउटा आकार दिन्छ, निश्चितता दिन्छ र गर्व गर्ने आधार दिन्छ । अनुशासनमा चुकियो भने जीवनका अन्य पक्षमा पनि चुकिन्छ । मैले आत्मसात गरेको अनुशासनको घेराले मेरो जिन्दगी सार्थक बनेको छ भन्ने ठान्छु । (more…)






