यो भयो दुई दिनअघि। अनिश्चय, अन्यौल र भय व्याप्त राजनीतिक डबलीमा दुई प्रकारका पात्र र प्रवृत्ति हाराहारी दृश्य र चर्चामा आए। कैलालीको रगतपच्छे त्रासदीबाट तर्सेका सत्तापक्ष र प्रतिपक्षले सिंहदरबारमा हठात् भेट गरे। भेटमा माउ तीन दलका माउ नेता हाजिर भए। भिडन्तको भुतभुते निभाउने मनसुवाले नेताश्रीले संवादको म्यादी चौतारी बनाउने मतो गरे। र, संवादको ढोका खोल्न तिनले त्रिदलीय कार्यदलसमेत गठन गरे। यो आकस्मिक भेट, यो हत्पते मतो र यो तदर्थ कार्यदल हँसिया आकारको जून नभए पनि औँसीको पिलपिले जूनकीरीको प्रतीक भने पक्कै हो। उही दिन एउटा सानो झुन्ड भिक्षाका लागि हात पसार्दै राष्ट्रपति यादवकहाँ पुग्यो। र, राष्ट्रपतिलाई धनुषटंकार मुद्रामा जदौ गर्दै झुन्डले भिक्षा माग्यो। भिक्षाको अभिप्राय खतरनाक थियो। दासवत् मुद्रामा झुन्डले करुण पुकारा गर्यो – महामहिम प्रभु! संविधानसभाको म्याद थप नगराइ पाऊँ। कृपाकारी हजुरबाट हाम्रो उद्धारार्थ दह्रो कदम चालीपाऊँ। जो हुकुम, जो निगाह ख्वामित्! सदैव हजुरका बफादार ताबेदार हामी हौँ – कुलबहादुर गुरुङ, गोविन्दाराज जोशी, विनयध्वज चन्द एवं अन्यहरू।

छातीमा मुड्की ठोकेर यो भिक्षार्थी झुन्ड भन्छ – खाँट्टी काङ्ग्रेसी मै हुँ। अजीवको पार्टी हो नेपाली काङ्ग्रेस, जसमा फूल, पात र पत्करको उदेकलाग्दो समागम छ। र, यस घडीमा यस पार्टीमा पत्करहरूको खासखुस, चलखेल र जालझेल बढ्दो छ। सबुतमा शीतल निवासमा दुःख बिसाउन र राष्ट्रपतिलाई उक्साउन पुगेको दुखीगण गण हाम्रासामु छ। यो दुःखीगण जब राष्ट्रपतिलाई पम्प भर्न यत्नशील थियो, त्यस क्षणमा वायुमण्डलमा आधाजसो बुझिने एउटा स्वर गुन्जिरहेको थियो। त्यो स्वर थियो देउवा गुरुको। गुरुजी भन्दै थिए – शान्ति सम्झौताका बाचा सम्झेर सहमति र सहकार्यको बाटो उघारौँ। उही सम्झौताका सर्तबमोजिम सेना मिलान र व्यवस्थापन गरौँ। खाँचै परे संविधानसभाको म्यादै थपौँ। यता काङ्ग्रेसी श्री देउवाका वचनमा शान्तिको कामना थियो, उता काङ्ग्रेसी दुःखीगण श्री देउवाको यो पवित्र कामनामाथि बन्चरो बजार्न आतुर थियो।
सम्झना छ, राष्ट्रपतिका चरण कमलमा आँसु झार्न जाने यो झुन्ड सदैव, निरन्तर र अथक राजतन्त्रप्रेमी भइआएको हो। यसले पहिले दह्रो राजा राख्न कम्मर कस्यो, तर सकेन। त्यसपछि यसले ठीकैको राजा राख्न (more…)





